चुनाव आएपछि मात्र सक्रिय हुने ‘मौसमी नेता’ भन्दै अनिल रूङटामाथि मतदाताको आक्रोश
वीरगन्ज – पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार तथा व्यवसायी अनिल रूङटालाई लिएर स्थानीय मतदातामा असन्तुष्टि बढ्दै गएको छ। चुनावी माहोल तातिँदै जाँदा मात्र जनताको घरदैलोमा देखा पर्ने तर अन्य समयमा पूर्ण रूपमा व्यापारमै व्यस्त रहने गरेको आरोप उनीमाथि खुलेर लाग्न थालेको हो।
स्थानीय बासिन्दाका अनुसार रूङटा चुनावको समयमा सक्रिय देखिए पनि दैनिक जनसरोकारका विषयमा भने बेवास्ता गर्ने गरेको गुनासो छ। गाउँ–टोलका समस्या समाधानमा चासो नदेखाउने तर मतदानको बेला मात्र विकासका ठूला–ठूला आश्वासन बाँड्ने प्रवृत्तिले जनतामा अविश्वास बढेको उनीहरूको भनाइ छ।
एक मतदाताले आक्रोश पोख्दै भने, “चुनाव आयो भने मात्र हात जोड्दै आउने, अरू बेला कहिल्यै भेटिन्नन्। जनताको दुःख–पीर सुन्ने फुर्सद नै हुँदैन।”
यस्तै धारणा धेरै स्थानीयले व्यक्त गर्दै रूङटालाई ‘मौसमी नेता’ को रूपमा चित्रण गर्न थालेका छन्।
वर्षौंसम्म व्यवसायमै केन्द्रित रहेर राजनीतिक गतिविधिमा निष्क्रिय देखिएका रूङटा अहिले मत माग्न सक्रिय हुँदा यो आलोचना झनै चर्किएको हो। मतदाताहरूले दीर्घकालीन रूपमा जनतासँग जोडिने नेतृत्व चाहिएको बताउँदै चुनावी मौसममा मात्र देखिने प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

