चितवन प्रहरीको नौलो अभ्यास: महिनाभरका जन्मदिन एकैदिन सामूहिक रूपमा मनाइयो
चितवन जिल्ला प्रहरी कार्यालयले संगठनभित्र आपसी आत्मीयता र सकारात्मक कार्य वातावरण बढाउने उद्देश्यसहित एक नयाँ अभ्यास सुरु गरेको छ। वैशाख महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको जन्मदिन एकैदिन सामूहिक रूपमा मनाइएको हो।
कार्यक्रम जिल्ला प्रहरी कार्यालयमै आयोजना गरिएको थियो, जहाँ डिएसपी रविन्द्र खनालको उपस्थितिमा केक काटेर जन्मदिन मनाइयो। सो अवसरमा जन्मदिन परेका कर्मचारीहरूलाई अविर लगाएर सम्मान गर्दै शुभकामना प्रदान गरिएको थियो।
डिएसपी खनालले प्रहरी कर्मचारीहरूको जन्मदिनको अवसरमा उनीहरूको सु–स्वास्थ्य, दीर्घायु र सेवाप्रतिको समर्पण अझ मजबुत बनोस् भन्ने कामना गर्दै सबैलाई बधाई दिएका थिए।
सामूहिक रूपमा जन्मदिन मनाउने यस अभ्यासले प्रहरी संगठनभित्र सहकार्य, आत्मीयता र मनोबल बढाउने विश्वास लिइएको छ।

