- अतिक्रमण हटाउने निर्णयसहित सबैया साझेदारी वनको तेस्रो बैठक सम्पन्न
पर्सा, सबैया — पर्सागढी नगरपालिका–४ सबैयामा रहेको सबैया साझेदारी वन उपभोक्ता समूहको तेस्रो बैठक अध्यक्ष लखन लाल साह कानुको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले वन क्षेत्रभित्र अतिक्रमण गरी प्रयोग हुँदै आएको जग्गा खाली गराउने महत्वपूर्ण निर्णय गरेको छ। वन संरक्षण, दिगो व्यवस्थापन र प्राकृतिक स्रोतको सदुपयोगलाई प्राथमिकतामा राख्दै आवश्यक कदम चाल्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
कार्यक्रममा सब–डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, उपाध्यक्ष असलम आलम लगायत सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वन अतिक्रमण नियन्त्रण, अवैध कटानी रोकथाम तथा उपभोक्ताको अधिकार संरक्षणमा जोड दिएका छन्।
समूहले वन संरक्षण, वृक्षारोपण, जैविक विविधता जोगाउने तथा स्थानीय समुदायको सक्रिय सहभागितामार्फत वातावरणीय सन्तुलन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउँदै संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ।

