दुई दिने बिदा र छोटो कक्षा समयले वीरगञ्जको शिक्षा क्षेत्रमा बढ्यो चिन्ता
वीरगञ्जमा हाल लागू भइरहेका नयाँ शैक्षिक निर्देशनप्रति अभिभावक, शिक्षक तथा विद्यालय सञ्चालकहरूले चिन्ता व्यक्त गरेका छन्। आइतवार बिदा, बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र कक्षा सञ्चालन, “Friday Book Free Education” तथा “Life Skill Education” जस्ता कार्यक्रम व्यवहारमा कार्यान्वयन गर्न चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ।
विशेषगरी वीरगञ्ज महानगरपालिका ले गर्मीका कारण विद्यालय सञ्चालन समय छोट्याएपछि साना कक्षाका विद्यार्थीलाई बिहानै विद्यालय पठाउन कठिन भएको अभिभावकहरूले बताएका छन्। उनीहरूका अनुसार दुई दिने बिदा र घटाइएको कक्षा समयले पठनपाठन प्रभावित भई शैक्षिक गुणस्तरमा असर पर्ने खतरा बढेको छ।
विद्यालय सञ्चालकहरूले आधुनिक पूर्वाधार भएका विद्यालयलाई पनि एउटै मापदण्डमा राखेर निर्णय गर्दा व्यवहारिक समस्या उत्पन्न भएको बताएका छन्। उनीहरूका अनुसार नयाँ शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न पर्याप्त समय आवश्यक पर्ने भए पनि अहिलेको व्यवस्थाले निर्धारित पाठ्यक्रम र सह–शैक्षिक गतिविधि पूरा गर्न कठिन बनाएको छ।
शिक्षाविद्हरूले वीरगञ्जलाई शिक्षाको हब बनाउने लक्ष्यसँग वर्तमान निर्णयहरू मेल नखाने बताएका छन्। उनीहरूले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पर्ने विषयमा खुला छलफल गरी व्यवहारिक समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

