मानव अधिकारको पक्षमा विद्यार्थीको बुलन्द आवाज, गौतम स्कुल प्रथम
वीरगञ्जमा ६५औँ एम्नेस्टी इन्टरनेशनल डेको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। एम्नेस्टी इन्टरनेशनल नेपाल ग्रुप १६ वीरगञ्जद्वारा आयोजित कार्यक्रममा मानव अधिकार, सामाजिक न्याय तथा बाल अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।
क्लासिक ब्याङ्क्वेटमा सम्पन्न प्रतियोगितामा वीरगञ्जका ८ विद्यालयका विद्यार्थीहरूले “छुवाछुतको अभ्यासले मानवअधिकार र मानव मर्यादामा गम्भीर आघात पुर्याउँछ” तथा “बालविवाहले बालबालिकाको क्षमता र अधिकार नष्ट गर्छ” विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा गौतम माध्यमिक विद्यालय की रित रौनियार प्रथम, जीवन ज्योति स्कुलकी सिधी कर्ण द्वितीय तथा गुरुकुल स्कुलकी आकृती पटेल तृतीय भएकी छन्। विजेता विद्यार्थीहरूलाई प्रमाणपत्रसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्याय, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा मानव अधिकारप्रति चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने विश्वास लिइएको छ।

