मानवसेवा आश्रम वीरगञ्ज शाखाले मनायो ९औँ वार्षिकोत्सव
वीरगञ्ज, १५ जेठ
मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज विविध कार्यक्रमका साथ आफ्नो ९औँ वार्षिकोत्सव मनाएको छ। २०७४ साल जेठ १५ गते नारायणी अस्पतालबाट शंकर नाम गरेका एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै वीरगञ्ज शाखाको औपचारिक शुभारम्भ गरिएको थियो।
स्थापनाकालदेखि नै मानवसेवा आश्रमले सडकपेटी, खुला आकाशमुनि तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ। वीरगञ्ज शाखा सुरुवाती पाँच वर्ष वीरगञ्ज–९ स्थित भाडाको घरमा सञ्चालन भएको थियो भने हाल वीरगञ्ज–२५ श्रीसियास्थित भवनबाट सेवा प्रदान गरिरहेको छ। साथै वीरगञ्ज–१५ लक्ष्मणवामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत अगाडि बढाइएको छ।
आश्रमका अनुसार स्थापना कालदेखि हालसम्म ३४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १५९ जनाको पारिवारिक पुनर्मिलन, ३३ जनाको सामुदायिक पुनर्स्थापना तथा ६५ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ। हाल श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ताले आश्रम पर्सा–बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँले दैनिक मजदुरी गर्ने श्रमिकदेखि उद्योगपति, व्यापारी, विद्यार्थी तथा गृहिणीसम्म सबै वर्गका मानिसहरूले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
मानवसेवा आश्रमले “घरपरिवारविहीन, बेसहारा तथा सहयोगापेक्षी मानवमुक्त नेपाल निर्माण” गर्ने लक्ष्यसहित सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको जनाएको छ। कार्यक्रममा आश्रम परिवारले विगत ९ वर्षदेखि साथ, माया र सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको थियो।
“मानवता नै सबैभन्दा ठूलो धर्म हो । जय मानवसेवा ।”
