आदर्श स्कुलमा मोन्टेसरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
वीरगञ्ज, १६ जेठ
वीरगञ्जस्थित आदर्श स्कुलले मोन्टेसरी तह उत्तीर्ण गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन समारोह आयोजना गरेको छ। विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहमा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वागत मन्तव्य प्राध्यापक हरि रत्न तुलाधरले व्यक्त गरेका थिए भने बिपिसी कलेजका कोर्डिनेटर बासु कर्ण, अभिभावक जवाहर साह तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा मोन्टेसरी तह पूरा गरेका विद्यार्थीहरूलाई ग्राजुएसन सम्मान प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले गीत, संगीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
प्रमुख अतिथि देवेश गुप्ताले प्रारम्भिक शिक्षा बालबालिकाको भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै विद्यालय र अभिभावकबीचको सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकास सम्भव हुने बताए। उनले नैतिक शिक्षा, अनुशासन र मानवीय मूल्यको विकासमा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल राम बिनोद पाण्डेले ग्राजुएसन पूरा गरेका विद्यार्थीहरूलाई बधाई दिँदै यो उनीहरूको शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ तथा बालमैत्री वातावरणमार्फत विद्यार्थीको क्षमता विकासमा विद्यालय निरन्तर सक्रिय रहेको उनको भनाइ थियो।
समारोहमा सहभागी अभिभावकहरूले आफ्ना बालबालिकाको प्रस्तुति र उपलब्धिप्रति खुसी व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जानकारी दिएको छ।

