रास्वपाको किल्ला निर्माणमा तुलसा पौडेल अधिकारीको भूमिका, पर्सा संगठनमा बढ्दो प्रभाव
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको संगठन विस्तार र सुदृढीकरणमा तुलसा पौडेल अधिकारीको भूमिका पछिल्लो समय चर्चाको विषय बनेको छ। पार्टीभित्र रणनीतिक रूपमा संगठन निर्माण, कार्यकर्ता परिचालन र नेतृत्व व्यवस्थापनमा सक्रिय रहेकी अधिकारीलाई कतिपय कार्यकर्ताले “पर्साकी चाणक्य” को रूपमा समेत चित्रण गर्न थालेका छन्।
रास्वपा पर्साको जिल्ला अधिवेशनमा महिलातर्फ सर्वाधिक मत प्राप्त गरेकी अधिकारीले पार्टीभित्र आफ्नो लोकप्रियता र प्रभाव स्थापित गरेकी छन्। अधिवेशनपछि उनलाई जिल्ला कोषाध्यक्षसँगै कार्यवाहक सभापतिको जिम्मेवारी दिइनु पनि नेतृत्वले उनीप्रति देखाएको विश्वासको रूपमा हेरिएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूका अनुसार तुलसा पौडेल अधिकारीले घण्टी चुनाव चिह्नलाई घर–घरमा पुर्याउने, नयाँ सदस्य विस्तार गर्ने तथा संगठनलाई गाउँदेखि नगरसम्म बलियो बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनको सक्रियताले रास्वपालाई पर्सामा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सहयोग पुगेको कार्यकर्ताहरूको भनाइ छ।
विशेषगरी महिला तथा युवा वर्गलाई पार्टीमा आकर्षित गर्न उनले खेलेको भूमिकाको प्रशंसा हुने गरेको छ। संगठनात्मक क्षमता, समन्वयकारी शैली र कार्यकर्तामाझको पहुँचका कारण उनी पर्सा जिल्लामा रास्वपाको प्रभावशाली नेतृका रूपमा उदाउँदै गएको विश्लेषण गरिन्छ।
पार्टीभित्र उनको बढ्दो सक्रियतासँगै आगामी दिनमा पर्सामा रास्वपाको संगठन अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।

