पर्सा प्रहरीका सूचना अधिकारी डीएसपी हरि बहादुर बस्नेतको काज सरुवा, सम्मानसहित बिदाइ
वीरगञ्ज, असार १५
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी हरि बहादुर बस्नेतको काज सरुवा भई मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा पदस्थापन भएपछि उहाँलाई सम्मानपूर्वक बिदाइ गरिएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित विशेष बिदाइ कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले डीएसपी बस्नेतलाई मायाको चिनो प्रदान गर्दै उहाँको सफल कार्यकालको उच्च प्रशंसा गर्नुभयो। एसपी पाठकले पर्सामा सूचना अधिकारीका रूपमा बस्नेतले निर्वाह गरेको जिम्मेवारी, अपराध अनुसन्धानमा देखाएको सक्रियता, शान्ति–सुरक्षा व्यवस्थापनमा दिएको योगदान तथा सञ्चारमाध्यमसँग कायम गरेको प्रभावकारी समन्वयको खुलेर सराहना गर्नुभयो।
उहाँले डीएसपी बस्नेतले प्रहरी र सञ्चार क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै नागरिकलाई समयमै सत्य र आधिकारिक सूचना उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ जिम्मेवारीमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।
पर्सामा कार्यरत रहँदा डीएसपी बस्नेतले विभिन्न आपराधिक घटनाको अनुसन्धान, शान्ति–सुरक्षा सुदृढीकरण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सञ्चारमाध्यमसँग नियमित समन्वय गरी प्रहरी संगठनको सकारात्मक छवि निर्माणमा उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। उहाँको कार्यशैली, अनुशासन, पारदर्शिता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको सहकर्मी तथा सञ्चारकर्मीहरूले समेत उच्च मूल्यांकन गरेका छन्।
बिदाइ कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा कर्मचारीहरूले डीएसपी बस्नेतसँगको सहकार्यलाई स्मरण गर्दै उहाँको सफल कार्यकालको प्रशंसा गरेका थिए। साथै मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा प्राप्त नयाँ जिम्मेवारीमा पनि सफलतापूर्वक कार्यसम्पादन गर्दै संगठनको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकृत, विभिन्न शाखाका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान, शुभकामना र आत्मीयताबीच सम्पन्न भएको बिदाइ कार्यक्रमले डीएसपी हरि बहादुर बस्नेतले पर्सामा पुर्याएको योगदानको सम्मान गर्दै उहाँको आगामी सेवायात्रा सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गरेको थियो।

