पर्सामा १० किलो गाँजासहित एक जना पक्राउ
वीरगञ्ज, असार १६ — पर्सा प्रहरीले विशेष सूचनाको आधारमा करिब १० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान २:०० बजे बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित खेत नजिक अमरपट्टी बीओपी र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बहुदरमाई नगरपालिका–८ निवासी ५८ वर्षीय मनोहर सहनीलाई शंका लागी जाँच गरेको थियो।
खानतलासीका क्रममा निजले बोकेको रातो प्लास्टिकको दुई वटा बोरामा लुकाइराखिएको ५/५ किलोका दुई पोका गरी १० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित पक्राउ परेका सहनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

