वीरगञ्जमा भन्सार छलीको मदिरा गोदाममा प्रहरीको छापा, ठूलो परिमाणमा मदिरा बरामद
निरीक्षक विक्रम सुबेदी नेतृत्वको टोलीको कारबाहीमा एक पक्राउ, थप अनुसन्धान जारी
वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ मितेरी पुल नजिक रहेको कस्तुरी कोल्ड स्टोरमा छापा मारेर भन्सार छली गरी लुकाएर राखिएको ठूलो परिमाणको मदिरा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा पुगेको प्रहरी टोलीले छापा मार्दा विभिन्न ब्रान्डका मदिरा बरामद भएको हो। प्रहरीले BHERI AMBITION ब्रान्डका ३८ कार्टुन र ५९ बोतल, कस्तुरी ब्रान्डका १० कार्टुन, Kingfisher क्यान बियर १ कार्टुन तथा Kingfisher बोतल बियर १ कार्टुन (२२ बोतल) बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज–३ निवासी करिब ३६ वर्षीय दिपक प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि भन्सार छली गरी मदिरा भण्डारण तथा कारोबार गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइनेछ। साथै यस घटनामा अन्य व्यक्ति वा कुनै संगठित सञ्जालको संलग्नता रहेको छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको छ। प्रहरीले नागरिकलाई यस्ता गैरकानुनी गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै अवैध कारोबारविरुद्धको अभियान निरन्तर जारी रहने जनाएको छ।

