पर्सा प्रहरीको ठूलो सफलता : २०७ किलो गाँजासहित पिकअप बरामद
पर्सामा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन कुमार भट्टराईको नेतृत्वमा सञ्चालित लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले २०७ किलो गाँजा बरामद गरेको हो।
बिन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप रोकी खानतलासी गर्दा सिमेन्टको बोराभित्र लुकाएर राखिएको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित पिकअप चालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको छ।
बरामद गाँजा र पिकअप नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

