पत्रकारको परिचयपत्रको आवरणमा लागुऔषध ओसारपसारको आरोप, ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन पक्राउ
सिन्धुली, साउन २० गते। पत्रकारको परिचयपत्रको आवरणमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–१ मिर्चैयाबाट काठमाडौं आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो कारलाई शंकाका आधारमा रोकी खानतलासी गरेको थियो।
लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी सुभाषचन्द्र बोहराका अनुसार कारको गियरबक्सभित्र विशेष रूपमा लुकाएर राखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।
प्रहरीका अनुसार कार चालक उमेश कुमार यादवको साथबाट ‘Janjagaran Khabar’ नामक सञ्चारमाध्यमको ‘News Reporter’ परिचयपत्रसमेत फेला परेको छ। उक्त परिचयपत्रको दुरुपयोग गरी लागुऔषध ओसारपसार गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट चार थान मोबाइल फोन, बा १६ च ७८५९ नम्बरको रेनो कार तथा बरामद खैरो हेरोइन नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

