बालबालिका बेचबिखन रोकथाममा सुरक्षाकर्मीको भूमिका प्रभावकारी बनाउने विषयमा वीरगञ्जमा छलफल
वीरगञ्ज, ९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत AATWIN (शक्ति समूह) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा बालबालिका बेचबिखन तथा ओसारपसारसम्बन्धी प्रारम्भिक अध्ययनको निष्कर्ष र सुझावबारे सुरक्षाकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज महानगरपालिका–९ स्थित सिद्धार्थ डियालो लर्ड्स होटलमा आयोजित कार्यक्रममा “नेपालमा बालबालिका बेचबिखनसम्बन्धी प्रारम्भिक अध्ययन”बाट प्राप्त निष्कर्ष, देखिएका चुनौती तथा आगामी दिनमा अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो।
कार्यक्रममा बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण, सम्भावित घटनाको पहिचान, रोकथाम तथा पीडितको संरक्षणका विषयमा सुरक्षाकर्मीको भूमिका प्रभावकारी बनाउनेबारे छलफल गरिएको थियो।
अध्ययनबाट प्राप्त तथ्य तथा सुझावलाई सुरक्षाकर्मीको कार्यसम्पादनसँग जोड्दै जोखिममा रहेका बालबालिकाको पहिचान, सीमा तथा आवागमन क्षेत्रमा निगरानी, सूचना आदानप्रदान र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
कार्यक्रममा सहभागीहरूले बालबालिका बेचबिखन रोकथामका लागि प्रहरी, सरकारी निकाय, गैरसरकारी संस्था, स्थानीय समुदाय तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, जोखिममा रहेका बालबालिकाको संरक्षण तथा सम्भावित बेचबिखनका घटना नियन्त्रणका लागि सचेतना र प्रभावकारी निगरानीलाई निरन्तरता दिनुपर्ने धारणा राखिएको थियो।
कार्यक्रममा अध्ययनबाट प्राप्त निष्कर्ष तथा सुझाव सुरक्षाकर्मीसमक्ष प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका सम्भावित उपायबारे अन्तरक्रिया गरिएको थियो। बालबालिका बेचबिखन तथा ओसारपसार नियन्त्रणमा देखिएका व्यवहारिक समस्या पहिचान गरी आगामी कार्ययोजनामा समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

