वीरगञ्ज महानगरको आर्थिक पारदर्शितामाथि जेनजी पर्साको प्रश्न, विशेष साहको नेतृत्वमा मागियो विस्तृत विवरण
वीरगञ्ज। जेनजी पर्साका संयोजक विशेष साहको नेतृत्वमा गएको टोलीले वीरगञ्ज महानगरपालिकाको आर्थिक पारदर्शिता र सार्वजनिक खर्चको विवरण माग गर्दै महानगरपालिकासमक्ष सूचना माग गरेको छ।
टोलीले महानगरको हालसम्मको आर्थिक अवस्था, आय–व्यय विवरण, सञ्चित कोष तथा बैंक मौज्दात, आन्तरिक राजस्व संकलन, संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, विकास तथा पुँजीगत खर्च, भुक्तानी हुन बाँकी दायित्व र लेखापरीक्षण प्रतिवेदनलगायतका विषयमा प्रमाणित विवरण उपलब्ध गराउन माग गरेको हो।
सार्वजनिक बजेट तथा नागरिकले तिरेको करबाट संकलित रकमको सदुपयोग सुनिश्चित गर्न आर्थिक कारोबार पारदर्शी हुनुपर्नेमा टोलीले जोड दिएको छ। महानगरपालिकाको वास्तविक आर्थिक अवस्था सार्वजनिक हुँदा नागरिकले खर्चको विवरण बुझ्न र सार्वजनिक निकायलाई जवाफदेही बनाउन सहयोग पुग्ने टोलीको भनाइ छ।
जेनजी पर्साले सुशासन, आर्थिक पारदर्शिता र सार्वजनिक जवाफदेहितालाई प्राथमिकतामा राख्दै महानगरपालिकाको आर्थिक गतिविधिमाथि निगरानी र खबरदारी जारी राख्ने जनाएको छ।

