इस्लामाबादमा आत्मघाती विस्फोट : ३१ जनाको मृत्यु, १५० भन्दा बढी घाइते
पाकिस्तानको राजधानी इस्लामाबादमा भएको भीषण विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार उक्त घटनामा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दिएको जानकारीअनुसार इस्लामाबादको तरलाई क्षेत्रमा आत्मघाती बम आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विस्फोटलगत्तै उद्धार टोलीले घाइतेहरूलाई नजिकका अस्पतालमा पुर्याएको थियो। स्थानीय अधिकारीहरूका अनुसार केही व्यक्तिलाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले सहरका तीन प्रमुख अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेको छ। सुरक्षाकर्मीहरूले घटनास्थललाई चारैतर्फबाट घेराबन्दी गरी विस्तृत अनुसन्धान अघि बढाएका छन्।
पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीले इस्लामाबादस्थित पिम्स अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। त्यस्तै, प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा निन्दा गर्दै दोषीहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।
यस घटनापछि इस्लामाबादसहित आसपासका क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ।

