ट्राफिक सप्ताह शुभारम्भ, सडक अनुशासन र दुर्घटना न्यूनीकरणमा जोड
वीरगञ्ज, असार ३ गते। सडक अनुशासनको पालना गराउने तथा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ बुधबारदेखि सुरु गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता Dsp हरि बहादुर बस्नेत सरले कार्यक्रमअन्तर्गत ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत विषयमा सर्वसाधारण, चालक तथा विद्यार्थीहरूलाई जनचेतना प्रदान गरिने जनाइएको छ।
प्रहरीका अनुसार सडक दुर्घटनाका घटनामा कमी ल्याउन र सुरक्षित यातायात संस्कृतिको विकास गर्न जनसहभागितामूलक कार्यक्रम सञ्चालन गरिएको हो। सप्ताहभर विभिन्न सचेतनामूलक अभियान, अन्तरक्रिया तथा प्रचारात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
